इरान-इजरेल युद्धमा अमेरिका होमिए दुर्दशा निम्तिने तेहरानको चेतावनी

इरानका उपविदेशमन्त्रीले बीबीसीसँग कुरा गर्दै इजरेली हमलामा अमेरिका सामेल भए त्यसले 'सम्पूर्ण क्षेत्रमा दुर्दशा निम्तने' चेतावनी दिएका छन्।

NEPALIWORLD

6/20/20251 min read

इरानका उपविदेशमन्त्रीले इजरेली हमलामा अमेरिका सामेल भए त्यसले 'सम्पूर्ण क्षेत्रमा दुर्दशा निम्तने' चेतावनी दिएका छन्।

सइद खतीबजादेहले 'यो अमेरिकाको युद्ध नभएको' भन्दै यदि राष्ट्रपति डोनल्ड ट्रम्पले यसमा सामेल हुने निर्णय गरे उनलाई 'आफू असंलग्न युद्धमा होमिने निर्णय गर्ने एक राष्ट्रपति'का रूपमा सदा स्मरण गरिने बताए।

अमेरिकी संलग्नताले जारी द्वन्द्वलाई 'दलदल'मा परिणत गर्ने, निरन्तर आक्रामकता भइरहने अनि 'बर्बर ज्यादती'को अन्त्यमा ढिलाइ हुने पनि बताए।

दक्षिण इजरेलको सोरोका अस्पतालमा इरानी क्षेप्यास्त्र प्रहार भएपछि उनको टिप्पणी आएको हो। इरानी सञ्चारमाध्यमहरूले अस्पताललाई नभई नजिकैको सैन्य इलाकामा निसाना दागिएको विवरण दिएका छन्।

इजरेलको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त हमलामा ७१ जना घाइते भएका छन्।

इजरेलको सेनाले इरानका परमाणु संरचनाहरूमा हमला गरिरहेको बताएको छ जसमा अराकस्थित 'निष्क्रिय' हेभी वाटर रियाक्टर तथा नतान्ज केन्द्र रहेका छन्।

तेहरानले इजरेलद्वारा भएका आक्रमणमा उसको हताहतीबारे अद्यावधिक विवरण दिएको छैन।

बिहीवार ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले अमेरिका युद्धमा प्रत्यक्ष सामेल हुने कि नहुने भन्ने बारे आगामी दुई साताभित्र निर्णय लिने बताएको छ।

"निकट भविष्यमा हुन पनि सक्ने नहुन पनि सक्ने इरानसँगको वार्ताको सम्भावना अझै उल्लेखनीय रहेको तथ्यका आधारमा मैले दुई साताभित्र (युद्धमा सामेल हुने कि नहुने) निर्णय लिने छु," ट्रम्पले दिएको सन्देश ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभीटले उद्धृत गरिन्।