केएन शर्माको 'संक्षिप्त नेपाली समानार्थी कोश' सार्वजनिक

NEPALILOCAL

7/2/20251 min read

भाषा मर्मज्ञ एवं वरिष्ठ साहित्यकार केएन शर्माको संक्षिप्त नेपाली समानार्थी कोश सिक्किम अकादेमीद्वारा आयोजित भव्य समारोहमा सार्जवनिक गरिएको छ। भाषाविद् साहित्यकार डा. गोकुल सिन्हा मुख्य अतिथिको रूपमा उपस्थित रहेर कृति सार्वजनिक भएको घोषणा गरे। सिक्किम अकादेमीको आर्ट ग्यालरीमा सम्पन्न कार्यक्रममा नेपाली भाषाको पहिले यस प्रकारको कोश भएको हुनसक्ने सम्भावना व्यक्ति गर्दै संक्षिप्त नेपाली समानार्थी कोशबारे डा पारसमणि दङ्गालले विचार राखेका थिए। उनले नेपाली भाषाको पहिलो थिसारस कोश हो भन्ने दाबी गर्दै यसले नेपाली भाषाको समानार्थी शब्दहरूको संरक्षण मात्र नभएर त्यसको विभिन्न स्वरूपहरूको अध्ययनबारे पनि जानकारी प्रदान गर्ने महत्वपूर्ण पुस्तक पाठक समक्ष अघि आएको बताए। मुख्य अतिथि डा. गोकुल सिन्हाले नेपाली भाषामा भाषिक किचलो रहँदा रहँदै पनि मानक शब्द र कोशहरूको आवश्यकता निक्कै खट्किएको बताउँदै यस्तो अवस्थामा यो कोशलाई थिसारसको रूपमा हेर्न सकिने बताए। उनले सरकारी र आधिकारिक रूपमा संस्थागत प्रकाशनहरूलाई महत्व दिइने प्रावधान रहेको तर काम भने व्यक्तिगत रूपमा नै छिटो र सही हुने भएको कारण यस्ता कोशहरू अझै बनिनुपर्ने तथा सरकारले मागेको खण्डमा दिनुपर्ने बताए। यसगरि उनले नेपाल र भारतमै नेपाली भाषाको प्रयोगमा वैज्ञानिक र परम्परावादी सोचको किचलोले धेरै समस्या उत्पन्न गरिरहेको भए पनि निरन्तर रूपमा मानक भाषा कोशको विकासको निम्ति कार्य हुन आवश्यक रहेको तथा साहित्यकार केएन शर्माले पछिल्लो कार्य जस्तै यो कार्य पनि महत्वपूर्ण रूपमा काम लाग्ने कार्य गरेको बताए।

कार्यक्रममा लेखकिय मन्तव्य राख्दै साहित्यकार शर्माले यो कोश निर्माणको निम्ति लगभग पाँच वर्ष लागेको बताए। यसले लोकमा रहेको शब्दहरूको समानार्थी अर्थहरूलाई समेटेर त्यसको सही कुरालाई राख्ने कार्य गरिएको बताए। उनले कोश निर्माणको प्रक्रियामा आएको उहापोह र परिश्रमको बारेमा पनि जानकारी दिए।

सिक्किम अकादेमीका महासचिव पूर्ण योञ्जनले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्बोधन राख्दै अकादेमीका अध्यक्ष एसआर सुब्बाले समाजमा काम लाग्ने कर्महरूलाई विमोचन र प्रकाशनको व्यवस्थासम्म गरेर पुस्ताकारमा ल्याउने निर्णय गरेकै कारण यस प्रकारको लोकार्पण कार्यक्रमहरू आयोजन गरिने गरिएको बताए। यसैगरि यो परम्परालाई निरन्तरता दिने तथा सिमित श्रोतमा चल्ने अकादेमीलाई सक्दो काम लाग्ने उपयोगी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धताको साथ कार्य गरिरहेको बताए। अकादेमीका प्रशासनिक सचिव पीएल शर्माले धन्यवाद राखे भने मानव उत्थान सेवा समितिका बाल कलाकारहरूले सरस्वती बन्दना र वाद्यवादन प्रस्तुत गरेर कार्यक्रमको सुनमा सुगन्ध थपेका थिए। कार्यक्रममा पूर्व विधायक डीबी ठटाल, डा शोभाकान्ति थेगिम लेप्चा स्मृति ट्रस्टका अध्यक्ष डुपछिरिङ लेप्चा, नेपाली साहित्य परिषद्का अध्यक्ष हरी ढुङ्गेल साहित्यकार रुद्र पौड्याल विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।